मंगलबार उच्च अंकको करेक्सनपछि आज सेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा पुगेको छ, जबकि अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक १११ अंकले घटेको थियो। सेन्सेटिभ इण्डेक्स १.६८ अंकले वृद्धि भएर ४९८.१५ विन्दुमा अडिएको छ।
सेयर बजारमा सामान्य सुधार आएको भए पनि कारोबार रकम भने मंगलबारको तुलनामा कम भएको छ। आज ३२६ स्क्रिप्सको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबारको कारोबार रकम १८ अर्ब ६४ करोड रुपैयाँ थियो।
सामान्य सुधारका बीच तीन कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, र मिड सोलु हाइड्रोपावरका सेयर १० प्रतिशतले बढेका छन्। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर ९.९८ प्रतिशत र माइ खोला हाइड्रोपावरको सेयर ९.९३ प्रतिशतले वृद्धि भएको छ।
आजको कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स शीर्ष स्थानमा रह्यो, जहाँ ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। नेपाल फाइनान्सको ४१ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३८ करोड, एपि पावरको ३३ करोड, र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। सात वटा समूहको उपसूचक सकारात्मक देखिएका छन् भने अन्य छ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्।