संकल्प सञ्चार । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा देशका बिभिन्न स्थानमा ४४ पदकालागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । हिजो मंसिर २ गते आइतवार निर्वाचन आयोगले तोकेको निर्धारित समय भित्र ४४ स्थानका लागि ४१० उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । त्यसैगरि गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ ।
आयोगका अनुसार आज सोमबार विहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म उम्मेदवारीको विषयमा कुनै दावि विरोध भएमा उजुरी दिने, मंगलबार अपरान्ह ५:०० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
त्यसैगरी बुधबार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३:०० बजेदेखि ५:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ भने निर्वाचन मंसिर १६ गते आइतवार हुने छ ।