ईलाम/ तिलचन अधिकारी / केही मनमाेहक तस्बिरमा ईलामकाे प्रसिद्ध पर्यटकीय स्थल माईपाेखरीलाई आज हामीले यहाँ प्रस्तुत गरेका छाैं । इलामको हरियाली पहाडको मुटुमा अवस्थित माईपोखरी, प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाको अनौठो संगम हो। सन्दकपुर गाउँपालिकामा पर्ने यो स्थल इलाम सदरमुकामबाट करिब १३ किलोमिटर उत्तरपूर्वतर्फ अवस्थित छ। सदरमुकाम तथा बिब्ल्याँटे बजारबाट ट्याक्सी, मोटरसाइकल वा निजी सवारीमार्फत ३० देखि ४५ मिनेटको यात्रा गरेपछि माईपोखरी सजिलै पुग्न सकिन्छ। बाटो कालोपत्रे छ र हरियाली चिया बगान,डाँडाकाँडा, जस्विरे र काेठिडाँडा अासपासका सुन्दर दृष्य र शीतल मौसमले यहाँको यात्रालाई नै अविस्मरणीय बनाउँछ।

समुद्री सतहदेखि करिब २,१२१ मिटर उचाइमा अवस्थित माईपोखरी क्षेत्र भौगोलिक रूपमा दलदली सिमसार, वनजङ्गल र चुरे–शिवालिक श्रृंखलाको जैविक मिश्रण हो। पोखरीको वरिपरि बाक्लो वनस्पति,लालिगुरँस, धुपि सल्ला, झाडी र मौसमी सिमसारले यस स्थानलाई अनौठो जैविक गन्तव्य बनाएको छ। याे पाेखरि प्राकृतिक पानीको स्रोत समेत हो, जसले आसपासका खोलाहरूलाई जीवन दिने काम गर्छ।

माईपोखरीको जैविक महत्त्व अन्तर्राष्ट्रिय रूपमा समेत प्रमाणित भइसकेको छ। सन् २००८ मा यस क्षेत्रलाई ‘रामसार साइट’को मान्यता दिइएको हो, जसले माईपोखरीलाई नेपालका जैविक दृष्टिले अति महत्त्वपूर्ण १० सिमसार क्षेत्रहरूमध्ये एक बनाएको छ। यस क्षेत्रमा पाइने जीवजन्तु र वनस्पतिको विविधता चकित पार्ने खालको छ साथै यहाँ थुप्रै औषधीय र वन्य वनस्पतिहरू यहाँ देख्न सकिन्छ।

धार्मिक दृष्टिले माईपोखरीले झनै महत्त्व राख्दछ। पोखरीको छेउमै रहेको मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र रहेकाे छ । माईपोखरीको जललाई पवित्र मानिन्छ र यहाँ स्नान वा पूजा गर्दा मनोकामना पूरा हुने विश्वास पनि रहेको छ।

माईपोखरी केवल धार्मिक वा प्राकृतिक सौन्दर्यको लागि मात्र होइन, अनुसन्धान र अध्ययनका लागि पनि उत्तिकै महत्वपूर्ण स्थल हो। वातावरण, जैविक विज्ञान, वनस्पति तथा जलचरहरूको अध्ययन गर्न चाहने विद्यार्थी र अनुसन्धानकर्ताहरूका लागि यो सजीव प्रयोगशाला जस्तै रहेकाे छ। यस्तै, शान्त र प्राकृतिक सौन्दर्यमा रम्न चाहने पर्यटक, पदयात्रा गर्न चाहने घुमन्ते र जीवजन्तुका प्रेमीहरूको लागि माईपोखरी आदर्श गन्तव्य हो। फोटोग्राफीमा रुचि राख्नेहरूको लागि छिन छिनमा हुस्सुले ढाकिने पाेखरि , चराचुरुङ्गीको अावाज, मौसमी वनस्पतिहरू र हरियाली वनजंगलले उत्कृष्ट दृश्य दिने गर्छ।
माईपोखरी केवल इलामको गौरव मात्र होइन, पूर्वी नेपालको जैविक, धार्मिक र शान्त पर्यटनको सम्पदा हो। यसलाई संरक्षण, प्रवर्द्धन र अध्ययनको केन्द्र बनाउनु आजको आवश्यकता रहेकाे छ, ताकि भावी पुस्ताले पनि यो अद्भुत प्राकृतिक चमत्कारको अनुभव गर्न सकुन।


