संकल्प सञ्चार / एक साताको कारागार बसाई पछि सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना थुनामुक्त भएका छन् ।
अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगानाले ‘गल्ती भएको भन्दै माफी मागेपछि’ आइतबार कारागारमुक्त भएका हुन् । सर्वोच्च अदालतको पूर्ण इजलासले आइतबार अदालतको मानहानि गरेको ठहर गर्दै उनीहरुलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो । तर, उनीहरूले माफी मागेमा सात दिन मात्रै थुनामा राख्न आदेश दिइएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरूले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो । उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिएका थिए जुन कुरामा अहिले प्रकाशक कँडेल र सम्पादक ढुङ्गाना आफैँले गल्ती भन्दै माफी मागेका छन् । ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाइएको छ ।