झापा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध र प्रतिबन्धित औषधिसहित छ जनालाई पक्राउ गरेको छ। सोमबार, भद्रपुरबाट दुई जना ब्राउनसुगरसहित र दमकबाट एक जना प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन्। साथै, शिवसताक्षीबाट पनि दुई जना प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन्।
भद्रपुर–५ मेची पुलस्थित अस्थायी प्रहरी बिटबाट र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १०प ३२८७ नं. को मोटरसाइकलमा सवार भद्रपुर–८ का २७ वर्षीय मोहित साहलाई चेकजाँच गर्दा उनलाई १० ग्राम ९२ मिलिग्राम ब्राउनसुगर लुकाइराखेको अवस्थामा फेला पर्यो। थप अनुसन्धानका क्रममा मोहितले भक्तपुर सूर्यविनायक नगरपालिका–३ का २८ वर्षीय सन्दिप थापालाई सो औषधि दिनको लागि ल्याएको स्वीकार गरेपछि सन्दिपलाई पनि पक्राउ गरियो।
दमक–५ का २० वर्षीय अर्जुन कार्कीलाई इलाका प्रहरी कार्यालय दमकबाट पक्राउ गरिएको छ। उनको साथबाट प्रतिबन्धित ट्रामाडोल हाइड्रो क्लोराइड ५० एमजीका २०० क्याप्सुल र डिक्लोमाइन एचसीएल २० एमजीका २०० क्याप्सुल बरामद भएका छन्।
त्यस्तै, शिवसताक्षी नगरपालिका–११ दुधे चोकबाट सोमबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले माइधारतर्फ जाँदै गरेको प्र १–०१–०१५ प ३२२ नम्बरको स्कुटरलाई चेक गर्दा विभिन्न प्रतिबन्धित औषधिहरु फेला पारेको छ। स्कुटर चालक शिवसताक्षी–१० का २२ वर्षीय दिपेश तामाङ, शिवसताक्षी–९ का २५ वर्षीय सिमान्त सुब्बा र शिवसताक्षी–३ का १९ वर्षीय श्याम दर्जीलाई पक्राउ गरिएको छ। स्कुटरको डिगीबाट ट्रामाडोलका १६६ थान क्याप्सुल र कोलिवनका १५४ थान क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।