बिहीबार रातिदेखि निरन्तर वर्षाका कारण नेपालका विभिन्न राजमार्गका ६८ स्थानमा सडक अवरुद्ध भएका छन्। केही ठाउँमा एकतर्फी यातायात चलाउने प्रयास गरिए पनि, अधिकांश सडकहरू पूर्ण रूपमा ठप्प छन्। सडक विभागका अनुसार, २३ राजमार्गका ६८ स्थानमा पुरै क्षति पुगेको छ भने ३ सय ८० स्थानमा एकतर्फी सवारी चलाउने स्थिति बनेको छ।
प्रमुख मार्गहरू, जस्तै नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा, नारायणगढ–मुग्लिन, बेनी–जोनसामे, र बीपी राजमार्गका काभ्रे र सिन्धुली प्रभावित भएका छन्। अरनीको राजमार्गका सिन्धुपाल्चोक खण्ड र पुष्पलाल राजमार्गका सिन्धुली, खोटाङ र ओखलढुंगा खण्ड बढी प्रभावित छन्।
काठमाडौंको भित्र र बाहिरका सबै प्रमुख सडकहरू ठप्प छन्। आज पनि काठमाडौंबाट कुनै सवारी बाहिर निस्केका छैनन्, र भित्रिने क्रममा रहेका सवारी साधनहरू बीचमै रोकिएका छन्।
दक्षिणकाली सिस्नेरी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अगाडिको सडक र बल्खु–फर्पिङ सडक खण्ड पनि ठप्प भएका छन्। पृथ्वी राजमार्ग चन्द्रागिरि नगरपालिकामा र लेले–टीकाभैरव जाने मार्ग गोदावरीमा अवरुद्ध छन्। कान्तीलोकपथ मकवानपुरको घट्टेपाखमा र भीमफेदी–कुलेखानी–फाखेल सडक इन्द्रसरोवरमा पनि अवरुद्ध छन्।
कोशी प्रदेशमा, राँके–भेडेटार सडक धनकुटामा र दिक्तेल–गाइघाट सडक खोटाङमा ठप्प छन्। इलामको मेची राजमार्ग माइखोलामा पहिरोका कारण ठप्प भएको छ। उदयपुरमा, कटारी नगरपालिका वडा नम्बर २ मा सिद्धिचरण राजमार्ग र कटारी नगरपालिका १४ चनौटेमा पनि मार्ग अवरुद्ध छ।
त्रिभुवन राजपथ थाहा नगरपालिका र टिस्टुङ देउरालीमा पूर्ण रूपमा अवरुद्ध छ। पहिरोले कुलेखानी–मार्खु सडक इन्द्रसरोवरमा पनि ठप्प गरेको छ। पासाङल्हामु राजमार्ग रसुवामा बाढीका कारण अवरुद्ध छ। काभ्रेपलाञ्चोकमा विपी राजमार्ग पनि ठप्प छ।
सिन्धुलीमा मध्यपहाडी लोकमार्ग गोलञ्जोरमा पहिरोका कारण अवरुद्ध भएको छ। फिक्कलमा मध्यपहाडी राजमार्ग पनि ठप्प छ। हरिहरपुरगढीमा मदन भण्डारी राजमार्ग अवरुद्ध छ। धादिङमा पृथ्वी राजमार्ग ६ स्थानमा ठप्प भएको छ।
सिन्धुपाल्चोकमा अरनिको राजमार्ग चौतारा साँगाचोक गढीमा अवरुद्ध छ। बाह्रबिसे–तातोपानी सडक बाह्रबिसे नगरपालिका वडा नम्बर ५ मा ठप्प छ। रामेछाप–सिन्धुली, खुर्कोट जोड्ने सडक मन्थली नगरपालिका वडा नम्बर ६ मा पनि अवरुद्ध छ।
गण्डकी प्रदेशमा कालीगण्डकी करिडोर गैँडाकोटमा र म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा बेनी–दरबाङ सडक ठप्प छ। स्याङ्जाको वालिङ नगरपालिका-१३ मा सिद्धार्थ राजमार्ग पनि अवरुद्ध छ।
पाल्पामा पाल्पा–गुल्मी सडक ठप्प छ, र अर्घाखाँचीको शीतगंगा नगरपालिका २ भुवनपाटामा गोरूसिंगे–सन्धीखर्क सडक पनि अवरुद्ध छ।
रोल्पामा रूकुम घोराही सडक ठप्प छ, र माडी गाउँपालिका २ मा पनि सडक अवरुद्ध छ। गुल्मीको छत्रकोटमा तम्घास–रिडी सडक ठप्प भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा दाङ–सल्यान सडक पनि अवरुद्ध छ। हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली करिडोर अवरुद्ध छ।