संकल्प सञ्चार – चितवनमा यात्रुवाहक बस र ट्रक आपसमा ठाेकिदा ३३ यात्रु घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा इँटा लोड गरिएको ट्रकमा दुईवटा यात्रुवाहक बस ठोक्किदा उक्त दुर्घटना भएकाे हाे । दुर्घटना गएराति करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ।
काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बस रोकिराखिएको ना.६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किएका हुन्।सशस्त्र प्रहरीका सह-प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार घाइते सबैलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनामा घाइते ३३ जनामध्ये १५ जनाको उपचार चितवन मेडिकल कलेजमा, १३ जनाको नेसनल सिटी अस्पतालमा र ५ जनाको भरतपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समयका लागि सडक अवरुद्ध भए पनि सशस्त्र प्रहरीको टोलीले अहिले सडक एकतर्फी सञ्चालनमा ल्याएको छ।
 
															 
															 
															 
															 
															 
															 
															 
															 
															









