सलिना भण्डारी/फिदिम
११ जेठ २०८२
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अवस्था ठीक नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
आज पाँचथरको फिदिममा नेपाल प्रेस युनियनको आयोजनमा भएको पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि केही हुन्छ भन्ने कल्पना गरिएको भए पनि संविधान पुनरावलोकन गर्ने कुरामा कतै चर्चा समेत नभएको, भ्रष्टाचार न्यूनीकरण, सुशासन र आर्थिक अवस्था सुधार गर्ने भनिए पनि ती हरेक पक्षमा सरकार चुकेको बताउनुभयो ।
डा. कोइरालाले जनतामा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाउने कुराले जनतामा नैराश्यता छाएको बताउनुभयो । अर्बौं बक्यौता उठ्न बाँकी रहेकाले घिसिङले दबाव दिइरहेको र उहाँ हटेपछि आएका व्यक्तिले पनि खासै प्रयास नगरेको उहाँको भनाइ छ ।
हालै अध्यागमनको विषयमा भएको घटनाबारे बोल्दै उहाँले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिएको भए राम्रो हुने धारणा व्यक्त गर्नुभयो । नेपाली कांग्रेसभित्र पनि केही फरक विचार रहेको र भोलि बस्ने पदाधिकारी बैठकले यसबारे निर्णय गर्ने उहाँले उल्लेख गर्नुभयो ।
डा. कोइरालाले देशमा केही पनि भएकै छैन भन्ने कुरालाई अस्वीकार गर्दै गर्न सकिने धेरै कुरा रहेको बताउनुभयो । उहाँले चारवटा मुख्य क्षेत्र पर्यटन, उच्चस्तरीय कृषि, जलविद्युत/सौर्य ऊर्जा र डिजिटलाइजेसनमा ध्यान दिए नेपालले प्रगति गर्न सक्ने सम्भावना रहेको बताउनुभयो । यी चार कुराका साथै शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । देशमा भ्रष्टाचार र दण्डहीनता बढेको स्वीकार गर्दै उहाँले यी सबै कुरा सुधारेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
डा. शेखर कोइरालाद्वारा देशको अवस्थाप्रति चिन्ता व्यक्त
१२ जेष्ठ २०८२, आईतवार २१:४५