संकल्प सञ्चार-काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुलमुनि एक व्यक्तिको ह*त्या भएको छ ।
ह*त्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भइ काठमाडौं डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डल्लुबाट बुधबार पक्राउ गरेको हो ।
उनले १६ वैशाखको दिउँसो साढे ११ बजेतिर चक्कु प्रहार गरी काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका ४२ वर्ष जतिका माइला भनिने विक्रम तामाङको ह*त्या गरेको आरोपमा उनलाई पक्रउ गरिएकाे हाे । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको सोही दिन सवा १२ बजेतिर उनको मृ*त्यु भएको थियो ।
व्यक्तिगत रिसइबीका कारण श्रेष्ठले तामाङलाई चक्कु प्रहार गरी हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताएका छन् । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।