संकल्प सञ्चार । आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । पश्चिमा मुलुकमा निकै ठुलो महत्व दिईने भ्यालेन्टाइन्स डे आजभोलि नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाउन थालिएकाे छ । यो दिवस विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय हुँदै आएको छ । प्रेमभाव साटासाट गरि प्रेम अभिब्यक्त गर्ने एक पर्वकाे रूपमा यस दिनलाई लिईन्छ ।
यो पर्वकाे शुरूवात गरिनुकाे इतिहास पनि राेचक छ । एकजना भ्यालेन्टाइन नाम गरेका पादरी (सेन्ट) ले रोमन साम्राज्यका सम्राट्को आदेशविपरीत प्रेमी जोडीको विवाह गराइदिएका कारण ती पादरीलाई मृत्युदण्ड दिइएको थियो।
प्रेमका लागि बलिदान दिएको यी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाउन थालिएकाे हाे । इतिहासकारले यसैलाई ‘भ्यालेन्टाइन्स डे’ को सुरुवात भएको मान्छन्।
रोमन सम्राट्ले साम्राज्यको स्थापनादेखि नै सैनिकलाई विवाह गर्न बन्देज लगाएका थिए। त्यसो हुँदाहुँदै पनि केही रोमन सैनिक आफूलाई खटाइएको स्थानका महिलासँग विवाह गर्थे।
सन् २३५ मा त्यतिबेलाका रोमन सम्राट् सेभरस अलेक्जेन्डरको हत्यापछि रोमन साम्राज्यमा अशान्ति मच्चिएको थियो। एकातिर महामारी र गृहयुद्ध अर्कातिर आर्थिक संकट इत्यादि कारणले रोमन साम्राज्यको अवस्था दयनीय थियोे। यो अवस्थामा रोमन सैनिकहरुले विवाहलाई प्रतिबन्ध गर्ने नियमको बेवास्ता गर्न थाले।
इसाई धर्मगुरु सेन्ट भ्यालेन्टाइनले सन् २६० को दशकतिर सयौं वा हजारौं रोमन सैनिकको विवाह गराएको मानिन्छ। यो थाहा पाएपछि तत्कालीन सम्राट् क्लाउडियसले उनलाई पक्राउ गर्न आदेश दिए। सम्राट् क्लाउडियसले उनलाई आफ्नो धर्म त्याग गर्न वा मृत्युदण्ड स्वीकार गर्न दुई विकल्प दिएका थिए, तर उनले मृत्युदण्डको सजाय स्वीकारेको इतिहासकर बताउँछन्। त्यसपछि उनलाई जेलमा राखिएको थियो। जेलमा रहँदा उनले आफ्नै जेलरकी दृष्टिविहीन छोरीसँग सम्बन्ध स्थापना गरेको बताइन्छ। त्यसपछि उनलाई मृत्युदण्ड दिइयो। मृत्युदण्डअघि उनले जेलरकी तिनै छोरीलाई ‘तिम्रो भ्यालेन्टाइन’ बाट भन्ने सन्देशसहितको पत्र लेखेको किंवदन्ती छ।
सेन्ट भ्यालेन्टाइलाई सन् २७० अथवा वा त्यसकै आसपासको वर्षको फेब्रुअरी १४ मा घाँटी रेटेर मृत्युदण्ड दिइएको बताइन्छ। त्यसपछि सन् ४९६ मा पोप गलेसियसले फेब्रुअरी १४ लाई सेन्ट भ्यालेन्टाइन्सको दिन घोषणा गरेका थिए। हाल विश्वभरि नै यो पर्व विशेष महत्वका साथ मनाउने गरिएकाे छ ।