नेपाल दुईतिरका अन्तर्राष्ट्रिय सिमाना नदीले छुट्याएको छ– पूर्वमा मेची र पश्चिममा महाकाली । राज्यको सिमाना नै नदीले छुट्याएको दृश्यले देखाउँछ कि पानीको राजनीति कस्तो छ ।
उहिलेउहिले पानीका लागि राज्यहरूबीच युद्ध नै चल्थ्यो रे । सिमानाको लडाइँमा प्रमुख विवाद पानीकै हुन्थ्यो रे । सुनेका कथाहरूका अनुसार प्राचीन् बौद्ध साहित्यहरूका अनुसार त कपिल र कोलीय राज्यबीचमा रोहिणी नदीको पानीको विषयमा बारम्बार युद्ध भएका थिए ।
हुन त नेताहरूलाई आलोचना गर्दा पनि गालीमा पानीको स्रोतको विषय पनि निकै आउँछ । कसैलाई गण्डकी बेचुवा । कसैलाई कोशी बेचुवा । कसैलाई महाकाली बेचुवा । राजनीतिक नेतृत्वलाई गालीको रचना गर्भसमेत पानीमै आएर निर्भर छ । गालीसँगै छिमेकी राष्ट्र भारतसँग समेत नेपालको कूटनीतिक तिक्तता पानीको मुहानसँगै सम्बन्धित थियो । महाकालीको मूल स्रोत लिपुलेक कि कालापानी कता हो भन्ने विवाद । जुन अझै द्विपक्षीय समाधान भएको छैन ।
अन्तर्राष्ट्रिय सिमानामा मात्र हैन, पानीको स्रोत र पानीको प्रयोगको सन्दर्भमा विश्वभर नै सङ्घर्ष चलिरहेको छ । कहीँ अन्तरदेशीय छ । कहीँ अन्तरप्रदेश । कहीँ अन्तरपालिका त कहीँ अन्तरवडा । विवादका स्तर ठूला साना भए पनि विवादको ‘कोर’ कुरा पानी नै हो । अर्थात् जलविवाद नै हो । केही समयअगाडि कालीगण्डकी डाइभर्सनलाई समेत नेपालभित्र अन्तरप्रदेश पानीविवादको ठूलो उदाहरणको रूपमा लिन सकिन्छ । गण्डकी प्रदेशको भूभागमा रहेको कालीगण्डकीलाई डाइभर्सन गरेर लुम्बिनी लग्ने भन्ने विषयमा राजनीतिक नेतृत्वहरूबीच ठूलो अन्तरसंघर्ष चलिरहेको छ ।
कोकाह विवाद
ठूलो स्तरमा चलेका जलविवादमध्येको पछिल्लो विवाद हो, धरान बराहक्षेत्रको कोकाह खोला विवाद । ‘खाने पानी राजनीति’ बाट उदाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानेहरूका लागि खाने पानी खोज्न धरान कटेर बराहक्षेत्र नगरपालिकासम्म पुगे । धरानसमेत भएर बग्ने कोकाह खोलामा पानी सङ्कलनका लागि साम्पाङ पुगेका थिए । उनले त्यहाँ केही समय हजारौँको संख्यामा मान्छे बोलाएर व्यापक जनश्रमदानसमेत चलाए ।
झाडी फाँड्न र पाइप बोक्न साम्पाङको आह्वानमा हजारौँको संख्यामा मान्छेहरू भेला भए । खेत, पाखाहुँदै पाइप बिछ्याउन सुरु पनि भयो । पाइप बिछ्याउँदा किसानको जग्गामा रहेका बाली मासियो । तर, बालीधनीलाई भने केही भनिएन । वास्तै गरिएन ।
धरानका मेयर साम्पाङले श्रमदान चलाएको त्यो इलाका बराहक्षेत्र नगरपालिकाको थियो । धरानको भूगोल पार गरेर बराहक्षेत्र पुगेका साम्पाङले त्यहाँ न त पाइप बिछ्याइएको निजी जग्गाका प्रभावित, न बराहक्षेत्र नगरपालिका, कसैसँग पनि समन्वय गरेनन् । कुनै थाहा पत्तोबिना आफ्नो जग्गामा खन्दै पाइप राख्न थालेपछि स्थानीयहरूले प्रतिवाद गर्न थाले । बराहक्षेत्र १ चावाचाका स्थानीयहरूले विरोध गरेपछि बराहक्षेत्र नगरपालिकाले धरानलाई पत्र पठायो । काम रोक्न र संस्थागत निर्णय ल्याएर द्विपक्षीय सम्झौतापछि काम सुरु गर्न बराहक्षेत्रले पत्र पठाएको थियो ।