1
7

Sankalpasanchar Podcast

Sankalpasanchar TV

Facebook
Twitter
WhatsApp
4
11

घण्टीको रहस्य : टपरटुइयाँवादको उत्थान

12
9

सारा राजनीतिक इतिहास भुलेर २०८० वैशाख १० गतेको उपचुनाव मात्रै सम्झिने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले २०८४ सालको संसदीय चुनावमा सजिलोसँग बहुमत प्राप्त गर्नेछ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वर्णिम वाग्लेको सस्तो लोकप्रियता हेर्दा तिनीहरू जनताको ‘मुक्तिदाता’को रूपमा प्रकट भएका छन् । राजनीतिको मैदानमा वास्तविकता त्यही हुनेछ । वास्तविकता त्यस्तो होइन, हुने छैन । राजनीतिक इतिहास र राजनीतिशास्त्रको विज्ञानले पनि त्यसलाई अस्वीकार गरिदिन्छ । राजनीतिशास्त्र दर्शन मात्रै नभएर विज्ञान पनि हो, जसको आफ्नै विधि, पद्धति, नियम र गति हुन्छ । 

वर्तमान सत्ता गठबन्धन भ्रष्टाचार, कुशासन, पदलोलुप, अनैतिक र बदनाम भएको सही हो । यही बदनामीको फाइदा उठाउँदै अधैर्य चरित्र बोकेको मध्यम वर्गले राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)मार्फत नेपालको राजनीतिमा टपरटुइयाँवाद जन्माएको छ । घृणा र आक्रोशको बीचबाट हुलमुलको सिर्जना र बेढङ्गी तरिकाबाट प्रकट भएको सस्तो लोकप्रियताको अन्त्य कसरी हुनेछ भन्ने कुरा अहिल्यै अनुमान गर्न सकिँदैन । एउटा कुण्ठित र विचारविहीन वर्गले रवि लामिछाने र स्वतन्त्र पार्टीलाई समर्थन गरिरहेको छ । देशव्यापी ठूलो विरोध भएको अमेरिकी परियोजना एमसीसीप्रति स्वर्णिम वाग्लेले लगातार देखाइरहेको भक्तिभाव र बफादारिताले स्वतन्त्र पार्टीलाई अमेरिकी समर्थन प्राप्त छ भन्ने कुरा पनि छर्लङ्गै छ । प्रस्तुत लेखमा निष्कर्षका साथ टपरटुइयाँवाद शब्दको प्रयोग गरिएको छ । स्वतन्त्र पार्टीको गन्तव्य टपरटुइयाँवाद हो भन्ने विषयमा छलफल गरिएको छ । 

नेपालमा इन्टरनेट र सामाजिक सञ्जालको व्यापक प्रयोगले समाज अधैर्य, आक्रामक, प्रतिशोधपूर्ण बन्दै गएको छ भने रवि लामिछानेमार्फत राजनीतिमा भित्रिएको टपरटुइयाँवादलाई मलजल गरेको छ । टपरटुइयाँवादले सामान्य नागरिकलाई मात्रै होइन, शिक्षक, कर्मचारी, पत्रकार, बुद्धिजीवीलाई पनि व्यापक रूपमा असर गरेको छ । खोज र अनुसन्धान हुने विश्वविद्यालय, क्याम्पस र अनुसन्धान केन्द्रहरूसमेत टपरटुइँवादको सिकार हुने देखिएको छ । राजनीतिमा भित्रिएको टपरटुइयाँवाद सिंगो समाजका लागि, विकासका लागि खतराको घण्टी हो भन्ने कुरा बोध हुनुपर्छ । 

परिवर्तनको मूर्खतापूर्ण अपेक्षा

दुनियाँमा राजनीतिक परिवर्तनहरू त्यतिबेला भएका छन्, जतिबेला निश्चित राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम र योजनाले मूर्त रूप लिएर कार्यान्वयनमा लगिएका छन् । सन् १९४७ मा भएको भारतीय राजनीतिक परिवर्तनमा उपनिवेशवादको विरोध मात्रै थिएन, स्वतन्त्रता, लोकतन्त्र र समाजवादी नाराहरू पनि रहेका थिए । सन् १९१७ को रुसी समाजवाद र सन् १९४९ को चिनियाँ क्रान्ति पनि एउटा दर्शन र राजनीतिको विजय थियो । सन् १७८९ को फ्रान्सको राज्यक्रान्ति, जसलाई मानव समाजको इतिहासमा आधुनिक क्रान्ति भनिन्छ, त्यसको आफ्नै सैद्धान्तिक, दार्शनिक मान्यता रहेको थियो । सन् १७८१ को अमेरिकी स्वतन्त्रता संग्रामका आफ्नै दर्शन र सिद्धान्तहरू रहेका थिए । नेपालमा वि.सं. २००७, २०४६ र २०६३ मा भएका राजनीतिक आन्दोलनका आफ्नै दर्शन थिए । निरंकुश राजतन्त्रका विरुद्धमा सिंगो देश जुरुक्कै उठेको थियो र नेपालमा गणतन्त्र स्थापना भएको थियो । विश्वका धेरै देशमा भएका सानाठूला संघर्ष, क्रान्ति वा परिवर्तनहरूका आफ्नै दर्शन र सिद्धान्तहरू रहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीलाई गएको मतलाई जसरी ब्यालेट विद्रोह भनेर परिभाषित गरिँदै छ । यो विद्रोह शब्दकै अपमान र भ्रष्टीकरण हो । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कुनै विद्रोहबाट होइन, टपरटुइयाँवादबाट भएको छ । यो कुनै राजनीतिक दर्शन, सिद्धान्त, विचार, कार्यक्रम केही पनि होइन । टपरटुइयाँवादले विचित्रसँग भिडतन्त्रको प्रदर्शन गरेको छ । दर्शन र विचारसहितको राजनीतिक विद्रोह र टपरटुइयाँवादले भरिपूर्ण भिडतन्त्र छुट्याउन नसक्नेहरूसँग अहिले बहस गर्नु निरर्थक भए पनि स्वतन्त्र पार्टीको उदयको वास्तविकता यही हो भन्ने कुरामा कुनै दुविधा राख्नु हुँदैन । 

टपरटुइँया भनेको के हो ? एकैछिन सोही शब्दकै बारेमा छलफल गरौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत् नेपाली शब्दकोशमा टपरटुइँयाको अर्थ ‘अध्ययन, ज्ञान आदि नभए पनि बाहिरी बठ्याइँबाट आफ्नो पाण्डित्यको प्रदर्शन गर्ने, भित्री ज्ञान कम भएको तर बाहिरी प्रभुत्व जमाउन चाहने, लालबुझक्कड’ उल्लेख छ । पार्टी अध्यक्ष रवि लामिछानेको बठ्याइँ, पाण्डित्य, प्रभुत्व जमाउन चाहने आकांक्षा हेर्दा के देखिन्छ भने प्रज्ञा शब्दकोषको अर्थ, उद्देश्य सबै मेल खाएको छ । नेपाली समाजमा निरन्तर टपरटुइयाँ गतिविधि प्रदर्शन गरिरहेका रवि लामिछानेको राजनीति टपरटुइयाँवादमा आधारित भएको कुरा हालसम्मको सम्पूर्ण व्यवहारले प्रमाणित गरेको छ । 

4
3