संकल्प सञ्चारः भारत गुजरातको राजकोट शहरस्थित गेम जोन बालबालिका खेल्ने ठाउँमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । राजकोटको कालावड रोडस्थित टीआरपी गेम जोनमा शनिबार अपरान्ह करिब ४ बजे लागेको आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।
भारतीय सञ्चार माध्यमहरुले मृतकको पहिचान गर्न सकिने खालको नरहेको जनाएका छन् । ती शव पहिचानका लागि डीएनए टेस्ट गराउने तयारी छ ।प्रत्यक्षदर्शीका अनुसार गेम जोनमा केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले घटनाको जाँच गर्न विशेष अनुसन्धान टोली गठन गरिएको जनाएका छन् । टीआरपी गेमजोनका म्यानेजरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।