हिजो मात्रै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल – भारत ऊर्जा सचिव स्तरमा विद्युत निर्यात सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै नेपालको बिद्युतको विशाल बजारमा सहज प्रवेशको अवसर मिल्ने भएको छ ।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गरेको भारत भ्रमणका क्रममा नै त्यसम्बन्धी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज नेपाल र भारतका ऊर्जा सचिवले हस्ताक्षर गरेसँगै सम्झौता नयाँ चरणमा प्रवेश गरेको हो ।
पछिल्लाे सात वर्षभित्र नेपालको विद्युत् उत्पादन क्षमता झण्डै तीन हजार मेगावाट बराबर पुगेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म मुलुकको कुल जडित क्षमता तीन हजार पाँच सय मेगावाट बराबर पुग्नेछ । हालसम्म नौ हजार एक सय ६४ मेगावाटका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ । त्यसमध्ये विगत एक वर्षमा मात्र करिब दुई हजार एक सय ६९ मेगावाट बराबरको जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता भएको छ ।
प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यकालमा १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य निर्धारण गरिएको थियो । विद्युत् उत्पादनका लागि विभिन्न राष्ट्रसँग छलफल तथा लगानीको वातावरण तयार पारिएको थियो । त्यस्तै २०७४ मा दोस्रो कार्यकाल दैनिक १८ घण्टासम्मको लोडसेडिङको अन्त्य गरियो । उज्यालो नेपालको घोषणा, पूर्वाधारको तीव्र विकासलाई जोड दिइएको थियो ।
प्रधानमन्त्रीका रुपमा प्रचण्डको तेस्रो कार्यकालमा कुल ६ हजार सर्किट किलोमिटर बराबरको प्रसारण लाइन विस्तारसँगै झन्डै तीन हजार मेगावाट बराबर बिजुली प्रणालीमा जोडिएको छ । एकदिन अघिमात्रै भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापार सम्झौता भएको छ । त्यस्तै १५ अर्ब २७ करोड बराबरको झण्डै सात सय मेगावाटसम्म विद्युत् निर्यात भयो ।
बंगलादेश र चीनसँग समेत विद्युत् व्यापारका लागि छलफल जारी छ । त्यसलाई पनि शीघ्र कार्यान्वयनको प्रक्रियामा अगाडि लगिनेछ । सन् २०३५ सम्म २८ हजार सात सय १३ मेगावाट उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको छ । रणनीतिक महत्वका आयोजना निर्माण प्रक्रिया सुरु भएको छ ।
दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा ठूलो १० हजार आठ सय मेगावाट कर्णाली–चिसापानी आयोजनाको अध्ययन प्रक्रिया सुरु भएको छ । आगामी तीन वर्षभित्र सो आयोजनाको अध्ययन प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनामा राखिएको सो आयोजनालाई प्रधानमन्त्री प्रचण्डले विशेष प्राथमिकतामा राख्नुभएको छ । त्यस्तै दूधकोशी ६ सय ३५ मेगावाट, तामाकोशी पाँचौँ एक सय मेगावाट, जगदुल्ला एक सय मेगावाट, अरुण चौथो चार सय ९२ मेगावाटलगायतका ठूला आयोजना अगाडि बढाउने लक्ष्य राखिएको छ ।
सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिँचाइ आयोजनालाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६ सय ७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको थप विस्तृत अध्ययन गर्न र लगानी ढाँचा तयार गरी निर्माण अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिइसकिएको छ ।
विगत एक वर्षमा सात सय मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव २८ प्रतिशतले बढी हो ।
नेपालको विद्युत्को बजार बंगलादेशसम्म विस्तार गर्न सुरुआती चरणमा ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात गर्नेगरी भारत र बंगलादेश सहमत भएका छन् । निकट भविययमा नै यसका लागि आवश्यक सम्झौता गर्ने तयारी छ ।