बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका ९ जना कार्यकर्ताहरु भारतीय ट्रक चालकको हत्या गरेको आरोपमा पक्राउ गरी जेल चलान भएका छन् । उनीहरूलाई मङ्गलबार कर्तव्य ज्यानको मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टका अनुसार, बयानका लागि झापा जिल्ला अदालतमा उपस्थित गराइएपछि अदालतले उनीहरूलाई हिरासतमा राख्न आदेश दिएको हो।
कारागार चलान हुनेहरूमा हल्दिबारी –१ स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानको भ्रातृ सङ्गठन पीडीएफका झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरू हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू, पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय वीरबहादुर गुरुङ , पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू र पीडीएफकै सदस्य बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन् ।
भारतीय ट्रक चालक पोदो रायको मृत्यु भएपछि कर्तव्य ज्यानको मुद्दामा कारवाही अघि बढाइएको थियो। रायको मृत्यु भारतमा उपचारको क्रममा भएको थियो।
प्रसाईँको गिरफ्तारीपछि उनका समर्थकहरू आन्दोलित हुँदै गत असोज ६ गते राति १०:३० बजे कनकाई नगरपालिका वडा नं. ८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट नेपालको सिराहातर्फ गइरहेको कुमार महतोले चलाएको UP57AT4493 नं. को भारतीय ट्रक र सोही रातिको बिहान २:३० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको WB 73 e\ 3056 नं. को अर्को भारतीय ट्रकलाई मोटरसाइकलमा आएका दुर्गाका समर्थकहरूले पेट्रोल बम प्रहार गरी आगजनी गरेका थिए।
ट्रक चालक कुमार महतो भाग्न सफल भए भने पोदो राय गम्भीर घाइते भए। उनलाई बीएण्डसी अस्पतालमा उपचारपछि भारतको सिलिगुडीमा पठाइयो, जहाँ उनको मृत्यु भएको थियो।
दुर्गा प्रसाईँलाई साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो र उनले एक लाख रुपैयाँ धरौटी तिरेपछि ९ दिनपछि रिहा भएका थिए ।