झापा/ आज साउन १५ अर्थात नेपाली परम्परा अनुसार खीर खाने दिन पनि भनिन्छ । परापुर्वकाल देखि नै साउन १५ मा खीर खाने नेपाली परम्परा छ ।
वर्षायाममा झरी पर्ने बेलामा खाईने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने प्रचलन छ । पानीमा भिज्दै लगाईने खेतीकाे काम सकिसके पछि बर्खाकाे चिसाे फ्याँक्न पनि खीर खाने चलन छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको विज्ञहरू बताउछन् ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीर लगायत मिठाइ विधिपूर्वक चढाइन्छ
ऋषिमुनिको पालादेखि नै श्राद्ध लगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा खीर बनाउँने गर्दछन् ।
नेपालमा २०७७ सालबाट साउन १५ लाई खीर खाने दिवसका रूपमा मनाउन थालिएकाे हाे भएता पनि नेपाली समाजमा परापुर्वकाल देखि नै याे परम्परा चलिआएकाे पाईन्छ ।