ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भएकाे प्रदर्शनमा गम्भीर घाइते भएका वीरेन्द्र शाहको पनि ज्यान गएकाे हाे । याेसँगै प्रदर्शनमा ज्यान गुमाउनेकाे संख्या २ पुगेकाे छ ।
ईपीएस आवेदन फाराम भर्न नपाएको भन्दै सिप बिल्डिङमा फेल भएका युवाहरुले शुक्रबार ग्वार्कोस्थित ईपीएस कार्यालय नजिकै प्रदर्शन गरेका थिए । उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको सरकारी गाडी जलाएका थिए ।
युवाहरुले गरेकाे प्रदर्शनमा प्रहरीले दमन गर्दा घाइते भएका शाहकाे पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हाे । यसअघि प्रदर्शनको क्रममा २३ वर्षीय सुजन राउतको पनि ज्यान गएकाे थियाे ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि प्रहरीले हवाई फायर समेत गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले ५० जनालाई नियन्त्रणमा समेत लिएकाे छ ।