सङ्कल्प सञ्चार– ताप्लेजुङ पाथीभरा क्षेत्रमा प्रहरीको गोली लागेर घाइते भएकाहरुको अवस्था गम्भीर बनेपछि थप उपचारकालागि काठमाण्डाै लगिने भएको छ । विराटनगरमा उपचार सम्भव नभएपछि काठमाडौं लगिने तयारी भएको छ। फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा शनिबार साँझ भएको झडपमा प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका थिए।
घाइतेमध्ये गम्भीर ३ जनालाई विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारकालागि राखिएको थियो तर त्यहाँ उपचार सम्भव नहुने भएपछि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती घाइते भएका थिए भने यामबहादुर, धर्मान र सगुन लावतीलाई प्रहरीले चलाएको गोली लागेको थियो। उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो।