संकल्प सञ्चार । नेकपा एमालेको सातौं केन्द्रीय कमिटीको बैठक आजबाट शुरु हुदैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ ।
एमाले केन्द्रीय कमिटी बैठक फागुन ८, ९ र १० गते तीन दिनसम्म चल्ने छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् साथै समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय पनि छन् । जनपरिचालन र जनदबाबका एजेन्डाहरु पनि तय भएका छन् ।
गठबन्धनको सरकारले राष्ट्रिय हित, जनसरोकार र सुशासनका प्रश्नमा गम्भीर विचलन देखाएको ठहर गर्दै एमालेले जनपरिचालन गर्ने र दबाव दिने अभियानलाई पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा बनाएको हो ।
गत बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो ।