संकल्प संचार / बिहीबारदेखि परेको अविरल वर्षाले काठमाडौँ उपत्यका र देशभरको जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोका कारण धेरै सडकहरू अवरुद्ध भएका छन्, र ती अवरुद्ध स्थानहरूमा सवारी यातायात पुनः सञ्चालन गर्न प्रयास जारी छ।
गएरातिसम्म बाढी र पहिरोका कारण १ सय १२ जनाको मृत्यु भएको छ भने ६८ जना बेपत्ता छन् , कम्तीमा १ सय व्यक्तिहरू घाइते भएका छन्, र सडक, पुल, र विद्युत् जस्ता संरचनामा ठूलो क्षति पुगेको छ, जसले अधिकांश क्षेत्रको दैनिक जीवनमा असर गरेको छ।
जल तथा मौसम विज्ञान विभागले शनिबार काठमाडौँ उपत्यकामा ५४ वर्षको इतिहासमा सबैभन्दा बढी वर्षा भएको बताएको छ, जहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ। उपत्यकामा मात्रै बाढी र पहिरोबाट ३७ जनाको मृत्यु भएको छ र २० जना बेपत्ता छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले शनिबार राति ११ बजेसम्म प्राप्त विवरण अनुसार, काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५/५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ।
धनकुटा र सोलुखुम्बुमा २/२ जनाले ज्यान गुमाएका छन्, जबकि रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको मृत्यु भएको छ। ६८ जना बेपत्ता व्यक्तिहरूका लागि विभिन्न जिल्लाहरूमा खोजी भइरहेको छ, जसमा पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देही समावेश छन्।
धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जनाका शवहरू र मकवानपुरको सिस्नेरीमा मृत्यु भएका ६ जनाका शवहरू शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि ल्याइएका छन्। बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्रमा पहिरोमा पुरिएको थियो।