प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको बालकुमारीमा भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गर्न कडा निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अंगका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिएका थिए ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए । प्रधानमन्त्रीसँगको निर्देशन पछी उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।