काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरू केही दिनको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण स्थगित भएका नाकाहरू पुनः सञ्चालनमा आएका छन्, जसले सडक यात्रामा केही सहजता ल्याएको छ।
धादिङको झ्याप्ले खोलामा खसेको पहिरो हटाइएको छ, जसपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी चल्न थालिसकेको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार, पूर्वतर्फ साँगाभञ्याङ हुँदै बाहिरिने सवारीसाधन अरनिको राजमार्गमार्फत चौतारासम्म र बिपी राजमार्ग हुँदै भकुण्डेबेँसीसम्म सञ्चालनमा छन्।
हालै नुवाकोटतर्फको नाका खुलेको भए पनि त्यहाँ ठूलो सवारीका लागि केही कठिनाई रहेको कार्कीले बताए। दक्षिणकालीबाट उपत्यका बाहिर जाने सडक अझै सञ्चालनमा आउन सकेको छैन। बाढी र पहिरोले पक्की पुलहरू बगाएको र सडकमा गम्भीर क्षति पुर्याएको स्थानहरूमा सवारी आवागमन पूर्ण रूपमा सुचारु गर्न केही समय लाग्नेछ।
हालको बाढीपहिरोले देशका ५० भन्दा बढी सडकमा १०० भन्दा धेरै स्थानमा क्षति पुर्याएको छ, जसमा २० भन्दा बढी पुलमा क्षती पुगेको थियो । बाढीका कारण रोकिएका यात्रुहरूलाई गन्तव्यमा पुर्याउन नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बल सक्रिय रूपमा कार्यरत छन्। केही राजमार्गका खण्डहरूमा सवारी चल्नका लागि अझै केही समय लाग्ने अनुमान गरिएको छ।
उपत्यका भित्रका खोला करिडोरमा बाढीपछिको हिलो पन्छाउने कार्य पूरा भएपछि ट्राफिक प्रहरीले यस क्षेत्रमा सडक यातायात व्यवस्थापनमा सुधार आउने आशा व्यक्त गरेको छ।
चाडपर्वको समयमा राजधानी बाहिर जाने यात्रुहरूको सहयोग र सहजता सुनिश्चित गर्न काठमाडौँ, ललितपुर, र भक्तपुरका १४ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरिएको छ। यो सहायता कक्ष यात्रुहरूलाई ठगिनबाट जोगाउन र यात्रा सहज बनाउनका लागि स्थापना गरिएको हो।