झापा। संकल्प सञ्चार । झापाकाे भद्रपुर-९ मा रहेको ग्यालेक्सी इङलिस स्कुलले यस बर्ष एसइइ ग्रेडेड बिद्यार्थीलाई सम्मान गरेकाे छ । एक कार्यक्रमको आयोजना गरेर विद्यालयले एसइइमा ग्रेडेड विद्यार्थीहरुलाई सम्मान गरेको हाे । विद्यालयको हलमा आयोजित कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति र प्रशासनले बिद्यार्थीलाई सम्मान गरेको हो । यस बर्ष ग्यालेक्सीबाट २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड भएका छन् । बिद्यालयले यसै शैक्षिकसत्रदेखि कक्षा ११ को कक्षा पनि सञ्चालन गर्ने भएको छ । २०८१ को एसइइमा नगरकै उत्कृष्ट भएको ग्यालेक्सीले आज पत्रकार सम्मेलन गरेर सोबारे जानकारी दिएको हो ।
विद्यालयका सञ्चालक तथा भाइस प्रिन्सिपल विवेक चम्लागाईंका अनुसार कक्षा ११ मा कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषयमा कक्षाहरु सञ्चालन गरिनेछ । ९२ प्रतिशत रिजल्ट ल्याएको ग्यालेक्सीमा यी दुई विषयमा पढाइ हुनेछ ।
व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सञ्चालकहरु सुनिल घिमिरे, देव गोयल, रोनक वंशललगायतले विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए ।
२०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहँदै आएको ग्यालेक्सीले यही शैक्षिकसत्रदेखि कक्षा ११ को अध्ययन सुरु गर्न लागेको हो ।
प्याब्सन तथा अन्य प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको भद्रपुर ९ प्रणामी टोलमा रहेको विद्यालयमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका लागि आफ्नै खेल मैदान रहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।विद्यालयमा स्काउटका साथै नृत्य र संगीतका कक्षाहरु सञ्चालनमा रहेका छन् । हालै सम्पन्न कक्षा ५ र ८ को रिजल्टमा भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल ग्यालेक्सीमा भौतिक रुपमा सुविधा सम्पन्न भवन र कक्षाकोठा रहेको सञ्चालक चम्लागाईंले बताए ।
साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ ।प्रिपाइमेरीका लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था गरिएको छ ।बालमैत्री वातावरणमा पढाइ हुने विद्यालयले विद्यार्थीको सुविधाको लागि मेचीनगरका धाइजन, चारआली, ज्यामिरगढी र धुलाबारीसम्म बसको व्यवस्था गरेको छ । त्यस्तै, भद्रपुरका चन्द्रगढी र ज्ञानेचोकसम्म विद्यालयको बस जानेआउने गरेको छ ।