सुनसरी प्रहरीले झापा बाह्रदशीका दुई युवासँग लुटपाट गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। झापा बाह्रदशी–३ राजगढ निवासी २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतसँग भएको रकम लुटपाटको घटनामा संलग्न उनीहरूलाई शनिबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा रामधुनी–३ का २२ वर्षीय अनिस कोइराला, १९ वर्षीय सुसन थापा, इटहरी–४ का २४ वर्षीय विशाल तामाङ, १८ वर्षीय सुनिल बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, इटहरी–७ का १८ वर्षीय साकार भण्डारी, र इटहरी–१६ का १८ वर्षीय रिचन खत्री रहेका छन्।
घटनाको विवरण अनुसार, ती युवाहरूले तालतलैया घुम्न जाँदा चक्कु देखाएर बाटो रोक्दै रकम लुटेका थिए। यो घटनाबारे पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि लुटपाटमा संलग्न व्यक्तिहरूलाई खोजी गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ गरिएका व्यक्तिहरूको साथबाट तीन लाख २५५ रुपैयाँ नगद, चक्कु, ओकेटोके हेन्ड सेट र मोबाइल बरामद गरिएको छ। उनीहरूलाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी पाँच दिनको म्याद थप गरिएको छ, र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।