कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादलहरू उत्पन्न भएका छन्। यी बादलहरू पूर्वबाट पश्चिमतिर सरिरहेका छन्, जसका कारण आज देशभर वर्षा भइरहेको छ। केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको छ भने कतिपय स्थानमा अति भारी वर्षा पनि देखिएको छ।
वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले नारायणगढ-मुग्लिन सडकखण्डमा विशेष सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार, मनसुन न्यून चापीय रेखा सामान्य स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा बनेको चक्रवातको बाहिरी घेराका बादल र तिब्बत तर्फबाट आएका बादलहरू नेपालमा वर्षा गराइरहेका छन्।
मौसमविद मानन्धरले भनिन्, “एक चक्रवात अरेबियन सीबाट पश्चिमतिर गइसकेको छ, तर बंगालको खाडीमा बनेको डिप्रेसन जमिनभित्र छिरेको छ भने यसको बाहिरी घेराका बादल नेपालमा पुगेका छन्। यसका साथै, चीन तर्फबाट ट्रिगर भएर वर्षा भइरहेको छ। यसरी, बादल बन्ने र वर्षा हुने प्रणाली अनुकूल भएकाले पानी परिरहेको छ।”